काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने औपचारिक भ्रमणका लागि आज भारत प्रस्थान गर्नुभएको छ। भारत सरकारको निमन्त्रणामा उहाँ बिहान ७ः३५ बजेको उडानमार्फत नयाँदिल्ली प्रस्थान गर्नुभएको हो।
भ्रमणका क्रममा नेपाल–भारतबीचको आर्थिक, राजनीतिक तथा कूटनीतिक सम्बन्धका विविध पक्षमा छलफल हुनुका साथै विपद्पछिको पुनर्निर्माणमा सहकार्यका विषयमा कुराकानी हुने अर्थमन्त्रीको सचिवालयले जनाएको छ।
अर्थमन्त्री वाग्लेले आज साँझ ५ बजे भारतीय अर्थमन्त्री निर्मला सीतारमणसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ। शुक्रबार बिहान भारतका पूर्वविदेशसचिव श्याम शरणले आयोजना गर्ने उच्चस्तरीय कूटनीतिक संवादमा उहाँ प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुनेछ।
त्यसैगरी, शुक्रबार साँझ भारतीय विदेशमन्त्री डा. एस जयशङ्करसँग भेटवार्ता गर्ने कार्यक्रम छ। सोही साँझ भारत व्यापार संवर्धन सङ्गठनका अध्यक्ष जावेद अश्राफले आयोजना गर्ने बृहत् भेटघाटमा पनि अर्थमन्त्री वाग्ले सहभागी हुनुहुनेछ।
शनिबार बिहान भारतीय उद्योग परिसङ्घले आयोजना गर्ने औद्योगिक घरानासँगको सम्मेलनमा उहाँ प्रमुख वक्ताका रूपमा सहभागी हुने कार्यक्रम छ। त्यसपछि बिहान ११ः३० बजे दिल्ली स्कुल अफ इकोनोमिक्समा आयोजना हुने प्राज्ञिक छलफलमा उहाँ प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुनेछ।
अर्थमन्त्री वाग्ले शनिबार साँझ ४ बजे स्वदेश फर्कने कार्यक्रम रहेको छ। भ्रमण टोलीमा अर्थ मन्त्रालयका सहसचिव अमृत लम्साल, परराष्ट्र मन्त्रालयका सहसचिव गेहेन्द्र राजभण्डारी, नयाँदिल्लीस्थित नेपाली राजदूतावासका उपनियोग प्रमुख डा. सुरेन्द्र थापा, इकोनोमिक्स मिनिस्टर तारानाथ अधिकारी र अर्थमन्त्रीका निजी उपसचिव कञ्चन बस्नेत सहभागी छन्।





