Flash
तेन्जिङ नोर्गे शेर्पा ओपन लिड क्लाइम्बिङ प्रतियोगिताको फाइनलमा १२ खेलाडी प्रवेशतेन्जिङ नोर्गे शेर्पा ओपन लिड क्लाइम्बिङ प्रतियोगिताको फाइनलमा १२ खेलाडी प्रवेशतेन्जिङ नोर्गे शेर्पा ओपन लिड क्लाइम्बिङ प्रतियोगिताको फाइनलमा १२ खेलाडी प्रवेश

स्थानीय तहका छनोटको तयारीमा रास्वपा

द्वारा फाल्चा मिडियाMay 3, 20264:30 PM2 min read
स्थानीय तहका छनोटको तयारीमा रास्वपा

२० वैशाख, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संघीय सरकार निर्माण लगत्तै स्थानीय चुनावको तयारीमा जुटेको छ । पहिलो पटक स्थानीय चुनावमा सहभागी हुन लागेको रास्वपाले अरू दलभन्दा एक कदम अगाडि बढेर तयारी थालेको हो ।


२०७९ वैशाखमा स्थानीय तहको चुनाव हुँदा रास्वपा दल नै गठन भएको थिएन । रास्वपाले स्थानीय तहको उपचुनावमा भने भाग लिएको थियो । प्रतिनिधिसभा निर्वाचनमा पहिलो दल बनेको रास्वपाले अर्को वर्ष हुने स्थानीय चुनावका लागि केन्द्रीय तहबाटै तयारी तीव्र पारेको छ ।


रास्वपाले ३५ हजार २२१ उम्मेदवारका लागि छनोटको विधि बनाउन सहमहामन्त्री विपिनकुमार आचार्यको संयोजकत्वमा केन्द्रीय तहको समिति गठन गरेको छ । सात सदस्यीय समितिमा केन्द्रीय सदस्यहरू आरके ढुङ्गाना, समीक्षा बाँस्कोटा, केपी खनाल, कामिनी चौधरी, रामकृष्ण भट्टराई र रोहन कार्की सदस्य छन् । आरके ढुङ्गाना समितिको सदस्यसचिवको जिम्मेवारीमा छन् ।


स्थानीय तहमा उम्मेदवार छनोटलाई पारदर्शी, समावेशी, योग्यतामा आधारित बनाउन समिति बनाइएको रास्वपाले जानकारी दिएको छ । आचार्य नेतृत्वको ‘उम्मेदवार छनोट रूपरेखा तथा क्यान्डिडेट क्लब सम्पादन समिति’ ले वडा, पालिका, जिल्ला र प्रदेशमा छलफल गरेर सुझाव लिने कार्य गरिसकेको छ ।


उक्त समितिले स्थानीय तह उम्मेदवार छनोट रूपरेखाको मस्यौदा प्रतिवेदन सभापति रवि लामिछानेलाई आइतबार पेस गरेको छ । स्थानीय तह निर्वाचनमा रास्वपाबाट उम्मेदवार हुन इच्छुकले उम्मेदवार क्लब र लिडरसिप एकेडमीबाट उत्तीर्ण हुनैपर्ने मापदण्ड बनाइएको छ ।


रास्वपाबाट स्थानीय तहमा उम्मेदवार हुनका लागि अनिवार्य रूपमा पार्टी सदस्य र उम्मेदवार क्लबमा दर्ता भएको हुनुपर्छ । उम्मेदवार छनोटको रूपरेखा तयार गर्न बनेको समितिका सदस्य सचिव ढुङ्गानाका अनुसार पार्टीले केही समयपछि उम्मेदवार क्लबमा दर्ता हुन सार्वजनिक सूचना जारी गर्नेछ ।

स्थानीय तह निर्वाचनका लागि पार्टीको उम्मेदवार छनोट विधि निर्माणका लागि केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्यहरूसँग सुझाव लिँदै । उम्मेदवारको आकांक्षा राखेर नाम दर्ता गर्नेहरूका लागि रास्वपाले प्रशिक्षण दिनेछ । राज्यका कुनै पनि तहको निर्वाचनमा उम्मेदवार हुन सदस्यहरूलाई प्रशिक्षण तथा परीक्षण गरी नेतृत्व क्षमता विकास गर्ने उद्देश्य रास्वपाले राखेको छ ।


पार्टी विधान, जनप्रतिनिधिका काम, कर्तव्य, अधिकार, स्थानीय तहको सरकारले गर्नुपर्ने कार्य, कानुनी, व्यावहारिक पाटो लगायतमा पार्टीले प्रशिक्षण प्रदान गर्नेछ । उम्मेदवार हुन इच्छुकका लागि आधारभूत र विशिष्ट दुवै कक्षा पार्टीले सञ्चालन गर्ने केन्द्रीय समिति सदस्य ढुङ्गानाले जानकारी दिए । दलका नेता एवं विषय विज्ञहरूले प्रशिक्षण दिने रास्वपाले जनाएको छ । उम्मेदवार हुनका लागि उत्तीर्ण हुनैपर्ने बाध्यात्मक विधि बनाइए पनि उत्तीर्ण हुनका लागि आवश्यक प्रतिशत भने किटान गरिएको छैन ।


तोकिएको समयमा प्रशिक्षण र परीक्षणका चरण पार नगरेमा उम्मेदवार क्लबको सदस्य बन्न नपाउने विधि बनाइएको छ । उम्मेदवार छनोट हुन प्रारम्भिक निर्वाचनको मत, लिडरसिप एकेडेमीको नतिजा, पोलिटिकल प्रोक्सिमिटी र समावेशिता लगायतलाई भाराङ्क निर्धारण गरिएको छ ।