काठमाडौँ, वैशाख २४ गते । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले नागरिकका लागि काम गर्नु गोरखापत्रको दात्यिव भएको बताउनुभएको छ । गोरखापत्र प्रकाशनको १२६ औं वर्ष प्रवेशको अवसरमा संस्थानमा आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै मन्त्री तिमिल्सिनाले यस्तो बताउनुभएको हो ।
मन्त्री तिमल्सिनाले संस्थानमा कार्यरत पत्रकार तथा कर्मचारीसहित सम्पूर्ण पाठकलाई बधाई तथा शुभकामना व्यक्त गर्नुभयो । उहाँले संस्थान र यसका प्रकाशनलाई बलियो बनाउनु पर्नेमा जोड दिनुभयो । उहाँले आजको पत्रकारिता र गोरखापत्र प्रकाशनको समय फरक भएको उल्लेख गर्नुभयो । इतिहासबाट गर्व गर्न लायक गोरखापत्रले भोलिका लागि सुन्दर इतिहास आजै निर्माण गर्नुपर्ने दायित्व रहेको बताउनुभयो । उहाँले हिजोको इतिहासमा मात्र गर्व गरेर नबस्न अनुरोध गर्नुभयो ।
उक्त अवसरमा गोरखापत्रमा प्रकाशित सन्थाल र हायु भाषा पृष्ठको सञ्चारमन्त्री तिमिल्सिनाले अनावरण गर्नुभयो । यी दुई भाषासँगै गोरखापत्रको नयाँ नेपाल पृष्ठमा प्रकाशन हुने राष्ट्र भाषाको संख्या ४९ पुगेको छ । नेपालीसहित अब गोरखापत्र ५० भाषामा समाचार सामग्री दिने सञ्चार माध्यम बनेको छ ।
वार्षिकोत्सवको अवसरमा आयोजित पाँच किलोमिटर दौड प्रतियोगिताका विजेतालाई कार्यक्रममा पुरस्कार प्रदान गरिएको छ । ५ किलोमिटर पुरुष दौडमा नेपाली सेनाका सञ्जय श्रेष्ठ १४ मिनेट १४ सेकेन्डमा दूरी पार गर्दै प्रथम हुनुभएको हो । उहाँले पदक र नगद पुरस्कार प्राप्त गर्नुभयो । महिलातर्फ दौडमा पूर्णलक्ष्मी न्यौपानेले १९ मिनेट २४ सेकेन्डमा दूरी पार गर्दै प्रथम हुनुभएको हो ।
गोरखापत्र दैनिकका प्रधान सम्पादक बस्नेतको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा उपस्थित अतिथि र कर्मचारीलाई संस्थानका प्रशासन विभाग प्रमुख निर्देशक बस्यालले स्वागत गर्नुभयो । वि.सं. १९५८ वैशाख २४ गते सोमबार गोरखापत्र प्रकाशन भएको १२५ वर्ष पूरा भएर बिहीबार १२६ वर्ष प्रवेश गरेको छ ।





