कीर्तिपुर — बहुप्रतिभाशाली तथा अमर कलाकार आदरणीय स्वतन्त्र संसार महर्जनको वार्षिक पुण्यतिथिको अवसरमा उहाँको योगदान, जीवनी तथा कला क्षेत्रमा पुर्याएको योगदानको स्मरण गर्दै श्रद्धाञ्जली कार्यक्रम सम्पन्न भएको छ।
पेज थ्री प्रकाशनले उहाँको सम्झनामा कीर्तिपुरस्थित कीर्तिपुर सिनेप्लेक्समा विशेष कार्यक्रम आयोजना गरी स्वर्गीय महर्जनप्रति श्रद्धासुमन अर्पण गरेको हो। कार्यक्रममा उहाँको जीवन, कला तथा समाजमा पुर्याएको योगदानबारे चर्चा गर्दै उहाँप्रति सम्मान व्यक्त गरिएको थियो।
सोही अवसरमा स्वतन्त्र संसार महर्जनको स्मृतिमा तयार पारिएको नेपाली म्युजिक भिडियो ‘फर्की आउ प्रिय’ समेत विमोचन तथा सार्वजनिक गरिएको छ। भिडियो सार्वजनिक भएपछि कार्यक्रमस्थल भावुक बनेको थियो। प्रमुख अतिथिदेखि उपस्थित दर्शकसम्म धेरैका आँखामा आँसु देखिएको थियो।
म्युजिक भिडियोबारे प्रतिक्रिया दिने क्रममा कलाकार तथा निर्देशकसमेत भावुक बनेका थिए। आफ्ना प्रिय कलाकार तथा आफन्तको सम्झनामा तयार गरिएको भिडियोका बारेमा बोल्दै गर्दा कतिपयले भावनालाई सम्हाल्न नसकेको दृश्य देखिन्थ्यो।
‘फर्की आउ प्रिय’ म्युजिक भिडियोमा स्वर्गीय स्वतन्त्र संसार महर्जनकी श्रीमती तथा छोराले समेत अभिनय गरेका छन्। भिडियोको निर्देशन चर्चित निर्देशक योवन शाक्यले गरेका छन् भने गीतमा दीपा महर्जनको स्वर र सुरेन्द्र श्रेष्ठको संगीत संयोजन रहेको छ।
स्वर्गीय महर्जनको जीवन, सम्झना र परिवारसँग जोडिएका भावनालाई प्रस्तुत गरिएको यस म्युजिक भिडियोले दर्शकलाई भावुक बनाएको छ। कलाकारप्रतिको सम्मान र उहाँको सम्झनालाई जीवन्त राख्ने प्रयासका रूपमा तयार गरिएको भिडियो एकपटक अवश्य हेर्न र आफ्नो प्रतिक्रिया दिन आयोजकले आग्रह गरेको छ।



