सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले प्रविधिको तीव्र विकाससँगै सञ्चार क्षेत्र रूपान्तरण भइरहे पनि अभिव्यक्ति स्वतन्त्रता, प्रेस स्वतन्त्रता, नागरिकको सूचनाको अधिकार र सार्वजनिक हितलाई सञ्चार प्रणालीको केन्द्रमा राख्नुपर्ने बताउनुभएको छ । उहाँले कृत्रिम बौद्धिकता (एआई), डिजिटल प्लेटफर्म र नयाँ प्रविधिलाई आत्मसात् गर्दै विश्वसनीयता, तथ्यपरकता, सम्पादकीय जिम्मेवारी र लोकतान्त्रिक मूल्यलाई अझ बलियो बनाउनुपर्नेमा जोड दिनुभएको छ ।
सार्वजनिक सेवा प्रसारण संस्था नेपाल र सामुदायिक रेडियो प्रसारक संघको आयोजनामा आजदेखि काठमाडौँमा शुरु भएको एसिया प्यासिफिक इन्सिच्युट फर ब्रोडकास्टिङ डेभलपमेन्ट (एआईबीडी) को २४औँ सम्मेलनलाई सम्बोधन गर्नुहुँदै सञ्चारमन्त्री डा तिमिल्सिनाले सञ्चार प्रविधि परिवर्तन भए पनि नागरिकको सूचना पाउने अधिकार, प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रता जस्ता आधारभूत सिद्धान्त परिवर्तन हुन नहुने बताउनुभएको हो । उहाँले स्वतन्त्रतासँगै सञ्चार क्षेत्रको जिम्मेवारी पनि जोडिएको उल्लेख गर्दै नागरिकलाई सही, निष्पक्ष, सन्तुलित र जवाफदेही सूचना उपलब्ध गराउनु सञ्चारमाध्यमको प्रमुख दायित्व भएको बताउनुभयो । उहाँले नेपालको सार्वजनिक सेवा प्रसारणलाई नयाँ पुस्तासँग जोड्नुपर्नेमा पनि जोड दिनुभयो । युवाले प्रयोग गर्ने डिजिटल माध्यममा गुणस्तरीय सामग्री उत्पादन गर्नुका साथै उनीहरूको आवाज, विचार र सिर्जनशीलतालाई सार्वजनिक प्रसारणमा समेट्नुपर्ने उहाँले बताउनुभयो ।




