काठमाडौं । श्रावण शुक्ल पञ्चमीका दिन प्रत्येक वर्ष मनाइने नागपञ्चमी पर्व आज भदौ १ गते सोमबार परम्पराअनुसार नागको पूजा–आराधना गरी मनाइँदैछ।
नागपञ्चमीका अवसरमा हिन्दु धर्मावलम्बीहरूले दूध, दही, दुबो, धूप, दीप तथा नैवेद्य चढाएर विधिपूर्वक नागको पूजा गर्ने र घरको मूलढोकामा नागको चित्र टाँस्ने परम्परा रहेको छ।
यस दिन अनन्त, वासुकी, पद्म, महापद्म, तक्षक, कुलीर, कर्कट र शङ्ख गरी अष्टनागका साथै गँगटो, बिच्छीलगायत जीवजन्तुको आकृति अंकित चित्रसमेत पूजा गरी घरको मूलढोकामा टाँस्ने गरिन्छ।
नागको चित्र घरको मूलढोकामा टाँस्दा वर्षभरि नाग, सर्प तथा बिच्छीलगायत जीवजन्तुबाट हुने दुःख–कष्टबाट बच्न सकिने धार्मिक विश्वास छ। साथै, अग्नि, मेघ र चट्याङको भयबाट समेत सुरक्षा प्राप्त हुने जनविश्वासका कारण नागपञ्चमीका दिन नाग पूजा गर्ने तथा नागको चित्र टाँस्ने चलन रहिआएको छ।
काठमाडौं उपत्यकाका विभिन्न नागपोखरी तथा नाग मन्दिरमा समेत आज विशेष पूजा तथा दर्शनका लागि भक्तजनको भीड लाग्ने गर्दछ।




