काठमाडौं । नेपालले यूएईलाई ४४ रनले हराउँदै एसीसी प्रिमियर कपको उपाधि जितेको छ। उपाधिसँगै नेपाल आगामी एसिया कपका लागि पनि छनोट भएको छ।
यो सँगै नेपाल दोस्रोपटक एसिया कपमा पुगेको हो। यसअघि नेपाल सन् २०२३ मा पनि च्याम्पियन बन्दै एसिया कपका लागि छनोट भएको थियो। शनिबार मलेसियाको बायोमास ओभलमा नेपालले दिएको ३१४ रनको लक्ष्य पछ्याएको यूएईले ४९.१ ओभरमा सबै विकेट गुमाउँदै २६९ रन मात्र बनाउन सक्यो।
यूएईका राहुल चोपडाले अविजित शतकीय पारी खेले। उनले १०५ बलमा चार छक्का र तीन चौकासहित १०० रन बनाए। सोहेब खानले ५२, तनिश सुरीले ४२, कप्तान हरप्रीतसिंह भाटियाले ३३ र खुजैमा तानवीरले १५ रन बनाए। छैटौँ विकेटका लागि राहुल र सोहेबले ८७ रनको साझेदारी गरेका थिए।
नेपालका करण केसीले तीन विकेट लिए। ललितनारायण राजवंशीले दुई तथा दीपेन्द्रसिंह ऐरी, रोहितकुमार पौडेल, गुल्सनकुमार झा, बसिर अहमद र कप्तान सन्दीप लामिछानेले एक–एक विकेट लिए।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर ३१३ रन बनाएको थियो। नेपालका लागि आसिफ शेखले उत्कृष्ट शतकीय पारी खेल्दै सर्वाधिक १०२ रन बनाए। उनले १०६ बलमा आठ चौका र चार छक्का प्रहार गरे।
गुल्सनकुमार झाले ३८ बलमा चार छक्का र तीन चौकासहित ५२ रन बनाए। अर्जुन कुमालले ४३, रोहितकुमार पौडेलले ४०, दीपेन्द्रसिंह ऐरीले १८, बसिर अहमदले अविजित १५ र इशान पाण्डेले १३ रनको योगदान दिए। पहिलो विकेटका लागि आसिफ शेख र अर्जुन कुमालले ९७ रनको साझेदारी गर्दै नेपाललाई बलियो सुरुआत दिलाएका थिए।
यूएईका इब्रार अहमदले चार विकेट लिए भने खुजैमा तानवीरले दुई तथा हैदर अली र आदिब उस्मानीले एक–एक विकेट लिए।एसिया कप अर्को वर्ष बंगलादेशमा आयोजना हुँदैछ।





