२१ वैशाख, काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मुलुकको राजनीतिक नेतृत्वमा अभूतपूर्व पुस्तान्तरण भएको भन्दै अब निजी क्षेत्रले पनि आफ्नो कार्यशैली र सोचमा परिवर्तन गर्नुपर्ने बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघको ६० औँ वार्षिक साधारण सभाको उद्घाटन सत्रलाई सम्बोधन गर्दै अर्थमन्त्री वाग्लेले ३६ वर्षका प्रधानमन्त्रीले देश हाँक्नु र ५० वर्षका आफू मन्त्रिमण्डलको सबैभन्दा ‘वृद्ध’ सदस्य हुनुले मुलुकमा ठूलो परिवर्तनको संकेत गरेको बताए ।
‘चार–पाँच महिना अगाडि पनि कल्पना गर्नुभएको थियो यो देशमा ३६ वर्षका प्रधानमन्त्रीले दमदारसित यो देशलाई हाक्नुहुन्छ भन्नेकुरा कसैले कल्पना गर्नुभएको थियो ? भर्खर ५० नाघेको अर्थमन्त्री यो क्याबिनेटको सबैभन्दा वृद्ध सदस्य भनेर कसैले कल्पना गर्नुभएको थियो ? हामी त ८० वर्ष नपुगी हैन मन्त्री, प्रधानमन्त्री, वरिष्ठ नेता के–के के–के भन्ने त हुँदैन भन्या थियौं नि । यो त ठूलो परिवर्तन हो नि,’ अर्थमन्त्री वाग्लेले भने ।
अर्थमन्त्री वाग्लेले नेपालको प्रशासनिक र राजनीतिक संयन्त्रमा रहेको बिचौलिया प्रवृत्ति र भ्रष्टाचारमाथि बर्तमान सरकार अझ निर्मम हुने पनि बताए ।
पहुँच र भनसुनका आधारमा मात्र काम हुने संस्कृतिको अब अन्त्य भएको समेत उनको भनाइ छ ।



